काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन निर्देशन दिएका छन्। मन्त्री चौधरीले नेपाल खानेपानी संस्थानलाई निर्देशन दिएका हुन्।
आइतबार नेपाल खानेपानी संस्थानले ३३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संस्थानले खानेपानीको बढ्दो मागलाई सम्बोधन गर्न सेवाक्षेत्र विस्तार गर्न निर्देशन दिए ।
उनले भने, ‘सरकारले शिक्षा र स्वास्थ्यमा आमनागरिकलाई निःशुल्क गरे जस्तै खानेपानी सेवा पनि निःशुल्क गर्न मैले पहल गरिरहेको छु। संविधानले हरेक नेपालीलाई स्वच्छ र शुद्ध खानेपानीको पहुँचलाई मौलिक हकको रुपमा प्रत्याभूति गरेकाले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने छ।’
हरेक नेपालीलाई निःशुल्क खानेपानीको सेवा बिस्तार तत्काल सम्भव नभए पनि सरकारले न्यून शुल्कमा खानेपानी वितरण कार्य कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री चौधरीले खानेपानीको शुल्क निर्धारण आयोग केही दिनमै गठन गरिने जानकारी दिए ।
मन्त्री चौधरीले आयोगले खानेपानीको व्यवहारिक र सर्वसुलभ शुल्क निर्धारण गर्ने गरी सुझाव दिने विश्वास व्यक्त गरे । उनले संस्थानले मुलुकका २३ वटा नगर क्षेत्रमा मात्र सेवा दिइरहेको भन्दै विस्तारको लागि निर्देशन दिए ।