काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्रधिकरणले विद्युत प्राधिकरणलाई कारबाही गर्न माग गरेको छ । दूरसञ्चारले इन्टरनेटको तार काटिएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै यसमा संलग्न विद्युत प्राधिकरणलाई कारबाहीको माग गरेको हो ।
शनिबार विद्युत प्राधिकरणले इन्टरनेट नै अवरुद्ध हुने गरी भरतपुर, बुटवल, धादिङ, ताप्लेजुङ, काठमाडौंका केही स्थान, र विराटनगर लगायतका स्थानमा तार काटेको छ । आफूले बढाएको पोल भाडा नतिरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काट्न शुरु गरेको छ ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल र विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधानका लागि सञ्चार तथा सूचना मन्त्रालय, दूरसञ्चार प्राधिकरण र विद्युत प्राधिकरण बीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास अप्टिकल फाइबर काटिएको दूरसञ्चारको आरोप छ ।
यसले राज्यको अति आवश्यक सेवामा अवरुद्ध भएको भन्दै दूरसञ्चारले दूरसञ्चार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने उल्लेख गरेको छ ।