काठमाडौं। भूक्षय रोक्नका लागि तटबन्ध निर्माणको कार्य अगाडी बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–३ स्थित सनबोरा नदी र स्याली नदीमा जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको हो।
वडा कार्यालयको रु दुई लाख र नेपाल रेडक्रस सोसाइटी शाखाको रु एक लाख गरी तीन लाखको लागतमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको बताइएको छ। स्याली नदीमा २०० मिटर र सनबोरा नदीमा १०० मिटर जैविक तटबन्ध निर्माणको कार्य भइरहेको हो।
स्थानीय बासिन्दाले टोलअनुसार पालैपालो तटबन्ध निर्माणका लागि श्रमदान गरिरहेको बताइएको छ। रेडक्रसले आर्थिक सहयोगसँगै तटबन्ध निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ।
स्याली नदीमा जैविक तटबन्ध निर्माणको कार्य पूरा भएको छ भने सनबोरा नदीमा तटबन्ध निर्माणको कार्य जारी रहेको बताइएको छ। जैविक तटबन्ध निर्माणपश्चात् नदी तटीय क्षेत्रमा घाँस, बाँसलगायतका बिरुवा रोप्ने कार्यले विगतमा हुँदै आएको भूक्षयको कार्यपूर्णरुपमा रोकिएको जनाएको छ।