काठमाडौं। नेपालमा रेलगाडी गुडेको इतिहास खोज्न थाल्यौ भने धेरैलाई थाहा नभएको इतिहास भेट्दछौ। नेपालमा रेलगाडीको शुरुवात पश्चिम नेपालमा भएको थियो। यो रेलसेवा भारत उत्तर प्रदेशको बहराइचबाट नेपालको बर्दिया जिल्लाको तारातालसम्म जोडिएको थियो। नेपाल फरेष्ट्री रेलवे नाम दिइएको रेलवे पूर्णरुपमा भारतमा रहेको अंग्रेज सरकारले आफ्नो स्वार्थको लागि बनाएको थियो। बर्दियाको जंगलमा सखुवाको रुखहरु काटेर ति रेलले काठहरु भारत तर्फ लैजाने गर्दथे। त्यतिबेलाको राणा शासक चन्द्रशम्शेरले त्यस बापत निश्चित रकम पाउँथे।

इष्ट इण्डिया कम्पनीको समयमा अवध राज्य अन्तर्गत रहेको यो रेलवे बिसं १९६२ मा शुरु भएको थियो। नेपालको बर्दियाको तारातालसम्म २५ किमी लामो रेलले धेरै नै सखुवाका काठहरु ओसारेको थियो। रेलको लिकको लागि आबश्यक पर्ने सखुवाको रुख सकिएछ पछि सो रेल पनि बन्द भयो।
चन्द्रशम्शेर कै शासनकालमा नेपालमा दोश्रो रेलसेवा शुरु भयो। यो रेलसेवा पनि चारकोशे झाडीको जंगलबाट रुख कटानी गरि काठहरु भारत निकाशी गर्न बनाइएको थियो। तर पछि यसको उद्धेश्यमा परिवर्तन गरियो। प्रथम विश्व युद्धको समाप्ती पछि बेलायत सरकारले नेपाल सरकारलाई युद्धमा मृत्यु भएका सैनिकहरुको ब्लड मनि बापत पाएको रकमले यो रेल बनाइएको थियो। नेपाल गवर्मेन्ट रेलवे नाम दिइएको सो रेल सेवा बिसं १९८३ फागुन ५ गतेबाट सञ्चालनमा आएको थियो। ४२ किमी लामो यो रेलवे भारतको रक्सौलबाट अमलेखगञ्जसम्म जोडिएको थियो। यस रेलले नेपालबाट काठहरु ओसार्थ्यो भने भारतबाट नेपाललाई आबश्यक पर्ने बिभिन्न सामग्रीहरुको आपुर्ति गर्दथ्यो। कलकत्ताको मेसर्स एण्ड मार्टिन कम्पनीले नै सञ्चालन गरिरहेको सो रेल सेवालाई पछि जुद्धशम्शेरको शासनकालमा नेपाल सरकारको मातहतमा ल्याइ रेलवेको लिक भित्री बजारबाट हटाइ केही बाहिरबाट लगिएको थियो। साथै केही कार्यालय भवन मर्मत गर्ने ठाउँ र आवासगृहहरु पनि बनाएका थिए।
यस पछि नेपालमा तेश्रो रेल सेवा पनि श्री ३ चन्द्रशम्शेरको समयमा नै शुरु भएको थियो। बिसं १९८४ मा निर्माण भएको रेलसेवा पनि बर्दिवासका जंगलबाट रुख कटानी गरि भारत तर्फ काठ निकाशी गर्नको लागी बिजलपुरासम्म ५३ किमी लामो बनाइएको थियो। पछि पर्याप्त काठहरु ओसारी सकेपछि नेपाल सरकारलाई सुम्पिएको थियो। बिसं १९९४ मंसिर १६ गते विबाह पञ्चमीकै दिन पारेर भारतीय तीर्थयात्रीहरु बोकेर जनकपुर आएको थियो। यसरी यो रेलको नामाकरण नेपाल जनकपुर जयनगर रेलवे गरि प्यासेन्जर ट्रेनमा परिवर्तन गरियो। यस रेलवे मार्फत भारतीय तिर्थयात्रीहरुलाई जानकी मन्दिर तर्फ आकर्षित गर्न सफल भएको थियो। त्यसबेला गुड्ने हन्सलेट कम्पनीले बनाएका मोडलका इञ्जिनहरुको नाम भने गुह्येश्वरी र पशुपति राखिएको थियो। पछि एभोनसाइड इञ्जिन कम्पनीको अर्को इञ्जिनको गोरखनाथ पनि थपियो। यस पछि सन ३० को दशकमा महाविर, कृष्ण, राम तथा सीता नामका इञ्जिनहरु थपिए। पछिल्लो चरणमा थपिएका इञ्जिनको नाम भने सीताराम, श्री विष्णु, सूर्य तथा चन्द्र थियो। यसपछि पनि नेपालमा केही अन्य रेलसेवा पनि सञ्चालनमा आएको थियो। चौथो रेलसेवा भने काठमाडौ उपत्यका भित्र मातातिर्थ देखी लैनचौरसम्मको १० किमी लामो थियो। मातातिर्थ रेलवे नाम दिइएको यो रेल भने रोपवेबाट मातातिर्थ सम्म आइपुगेका सामग्रीहरु ओसार्नको लागि बनाइएको थियो।
पाँचौ रेल सेवा कोशी ब्यारेज निर्माणको क्रममा भारत सरकारले निर्माण सामग्री ओसारपसारको लागि चतरा देखि भारतको वीरपुर तथा बथनाहासम्म जोडिएको थियो। यस रेलसेवालाई कोशी प्रोजेक्ट रेलवे ९के।पी।आर।० नामाकरण गरिए पनि नेपालीहरुले ढुङ्गा बोक्ने हुँदा ढुङ्गे रेल भनेर भन्दथे। पछि फुस्रेदेखि घोपासम्म ट्रकमा ढ्ङ्गा ओसार्ने तथा घोपा देखी भीमनगरसम्म रेलले लगिन्थ्यो। छैठौ बालरेल भने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा त्रिभुवनको समयमा नै दिएका थिए। शुरुमा गोपाल रेल नाम दिइए पनि पछि भृकुटीमण्डपमा बच्चाहरुको लागि मनोरञ्जनको रुपमा राखिए पछि यसलाई बालरेल नामाकरण गरिएको थियो।
यहाँ तस्विरमा गुह्येश्वरी जयनगरबाट जनकपुर तर्फ आउदै गरेको देख्न सकिन्छ। जनकपुर पुग्ने समयमा रहेको यो पुलमा गुडेको रेल देख्दा निकै रमाइलो लाग्ने गर्दछ। समयसंगै बन्द भएको यो रेलसेवा फेरी सञ्चालनमा आउने आशा जागेको छ।