रुपन्देही। जिल्लाको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ। सेज प्राधिकरणले नयाँ उद्योग स्थापना तथा सञ्चालनका लागि यही फागुन १५ गते प्रस्ताव आह्वान गरेको हो।
सेजले यसअघि उद्योग स्थापना र सञ्चालनको अनुमति लिएर पनि वर्षौसम्म उद्योग स्थापना नगरेका उद्योगहरूको इजाजत खारेज गरेको छ। सेजका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार भैरहवामा खाली रहेका ४५ वटा प्लटमध्ये ब्लक ‘ए’ मा रहेका २२ वटा प्लटमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ।
प्रस्ताव आगामी फागुन ३० गतेसम्म बुझाउन पाइने सेज प्राधिकरणले जनाएको छ।
पटकरपटक प्रस्ताव आह्वान गरिए पनि उद्योगीहरू आउन अनिच्छिुक देखिएपछि स्थापना हुने उद्योगहरूलाई विभिन्न प्रोत्साहन सुविधासँगै यसअघिको भाडादरमा समेत कमी गरिएको जनाइएको छ।
यसअघि प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडा लिने गरिएकोमा उद्योगीहरू आकर्षित नभएपछि भाडादर घटाएर प्रतिवर्गमिटर प्रतिमहिना १० रुपैयाँ लागू गरिएको छ।