भक्तपुर। चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन्।
चाँगुनारायण नगरपालिका–४ हुचीढुंगामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा चाँगुनारायण फाउन्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा प्लान्ट जडान गरिएको हो।
उद्घाटनपछि बोल्दै नगर प्रमुख मिश्रले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए।
नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले अकल्पनीय दुःखद घटनाको सृजना गरायो। कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले आफ्नै आँखा अगाडि धेरै चिनेजानेकाहरूको ज्यान गयो। त्यसपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेर अस्पतालमा १ करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी शुरू गर्न सफल भएका छौं ।’