सिन्धुपाल्चोक। मेलम्चीको नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। करिब रु एक करोडमा जडान गरिएको ४८ सिलिन्डर क्षमताको प्लान्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो।
मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलगायतको सहयोगमा प्लान्ट जडान गरिएको हो। पूर्वमन्त्री शेरबहादुर तामाङले सो प्लान्टको उद्घाटन गरेका छन् ।
उनले मेलम्ची भेगकै एक मात्र अस्पताल रहेकाले प्रदेश अस्पतालका रूपमा विकसित गर्न पहल भइरहेको जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए।
दैनिक ४८ सिलिण्डर अक्सिजन भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्चीलगायत आसपासका क्षेत्रमा अक्सिजन अभाव सिर्जना नहुने समेत अर्यालले दाबी गरे ।