चरीकोट। दोलखामा अझै पनि ६ हजार काठका विद्युत पोल जीर्ण अवस्थामा रहेका छन्। गत वर्ष मात्र ४०० भन्दा बढी पोलहरु विस्थापित गरीएको भएता पनि अझै जीर्ण पोल बाँकी रहेका छन्।
बाँकी रहेका त्यस्ता जीर्ण पोललाई हटाउँदै जाने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दोलखाले जनाएको छ। प्राधिकरणको अनुसार गत वर्ष हटाउन माग भएका ४०५ जीर्ण पोल हटाइएको छ भने बाँकी रहेको ६ हजार पोल पनि हटाउँदै जाने लक्ष्य रहेको छ।
सबै पोललाई एकै चोटि हटाउन सम्भव नभएको कारणले गर्दा विस्तारै हटाउँदै गएको हो। उक्त ठाउँमा गुनासो आए पश्चात मात्र फलामे पोल राखिने गरिएको छ। गत वर्ष शैलुङ गाउँपालिकामा १२० र विगु गाउँपालिकामा १२ वटा काठे पोल हटाएर फलामे पोल राखिएको थियो।
यो वर्ष मेलुङ गाउँपालिकामा ७५, जिरामी ३०, तामाकोशीमा १३, गौरीशंकरमा १४, बैतेश्वर २९ र भीमेश्वर नगरपालिकामा ११२ वटा काठे पोल हटाएर फलामे पोल राखिएको छ। बिस्तारै सबै जीर्ण पोलहरु हटाउने प्रयास भैरहेको छ।