दार्चुला। दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माण गर्न शुरु गरिएको छ। महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन शुरु गरिएको हो।
यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जानकारी दिएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।
नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयवासीले आशा गरेका छन् ।
गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सीमा नदी महाकालीमा मोटरेबल पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी भने खुसी भएका छन् । भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो ।