कञ्चनपुर। जिल्लाको भीमदत्त नगरपालिकामा बृहत् खानेपानी आयोजना निर्माण गरिने भएको छ। भीमदत्त नगरपालिका–६ र ७ का स्थानीय बासिन्दाका लागि ‘पूर्णागिरि शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना’ निर्माण गर्न लागिएको हो।
एशियाली विकास बैंकको वित्तीय सहयोगमा सञ्चालित शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना निर्माणका लागि नगर विकास कोषसँग ऋण लगानी सम्झौता भएको छ।
आइतबार नगर प्रमुख सुरेन्द्र विष्टको जमानतमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र पूर्णागिरि शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अध्यक्ष देवेन्द्रराज ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। २१ करोड २८ लाख ४८ हजार रुपैयाँमा ठेक्का लागेको उक्त आयोजनमा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान बापत १४ करोड ८९ लाख ९३ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋणबापत ५ करोड ३२ लाख १२ हजार उपलब्ध हुनेछ भने ३ प्रतिशत नगरपालिका र २ प्रतिशत उपभोक्ता समितिले बेहोर्नेछन्।
भीमदत्त नगरपालिकाले नगरवासीलाई स्वच्छ खानेपानीको सुविधा दिन विभिन्न आयोजना सञ्चालन गरेको नगर प्रमुख विष्टले बताए। नगरपालिकाले यसअघि सिद्धनाथ बैजनाथ खानेपानी आयोजनामार्फत भीमदत्त नगरपालिका–६, ८ र १० का स्थानीयलाई सेवा दिन शुरू गरिसकेको छ । भीमदत्त नगरपालिका–७ का वडाध्यक्ष शंकर कुवँरले सुदूरपश्चिमकै ठूलो आयोजनाको रूपमा पूर्णागिरि खानेपानी आयोजना सञ्चालन हुन लागेको बताए।