सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ। चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफ्नो मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको हो।
सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले चैत एक गतेसम्म छ वटा माग पूरा गराउन चेतावनी दिएको हो। कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित समन्वय समितिका संयोजकले मानवीय भौतिक तथा नागरिकको जीवन निर्वाहको अनिवार्य साधनको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनै पनि कदम नचालिनु दुःखद रहेको बताएका छन्।
२०७८ साल २१ माघमा मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै यही ११ फागुनमा बसेको स्थानीय सरोकार समुदाय एवं सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकको निर्णयसहित विभिन्न माग राखेका थिए। साथै सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराए पनि कुनै निकायले वास्ता नगरेको आरोप छ।