सप्तरी। हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित खानेपानी आयोजनाको निर्माण सुरुगरिएको २० वर्ष भइसक्यो तर काम अझै अलपत्र अवस्थामा रहेको छ। ६ करोड लागतको खोनेपानी आयोजना अलपत्र परेको हो।
६ हजार १४ घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्यअनुसार आर्थिक वर्ष ०५७।५८ देखि नै आयोजनाको काम सुरु भएको थियो। १ करोड ४३ लाख रुपैयाँ खर्च भइसके पनि हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको बताइएको छ।
छिन्नमस्ता गाउँपालिकाको सखडास्थित खानेपानी आयोजना निर्माण सकिएको वर्षौं भइसकेको छ। आयोजना उपभोक्तालाई हस्तान्तरण पनि भइसकेको छ तर अझै पनि उपभोक्ताको घर–घरमा पानी पुग्न सकेको छैन।
खानेपानी आयोजना निर्माणको नाममा २० वर्षयता सप्तरीमा १ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ। तर, कुनै पनि आयोजना सकिएर पानी अझैसम्म उपभोक्ताले उपयोग गर्न पाएका छैनन्।
२० वर्षमा संघीय सरकारबाट ३३ र प्रदेश सरकारबाट ८ गरी कुल ४१ वटा खानेपानी आयोजनामा बजेट छुट्टिने गरेको छ। तर, सबै निर्माणाधीन छन् । निर्माण भइसकेका आयोजनाबाट पनि खानेपानी सुविधा प्रदान भइरहेको छैन।
४१ वटै आयोजनाको पटक–पटक थपिएको म्याद आगामी चैत मसान्तमा सकिँदै छ। यो अवधिमा पनि कुनै आयोजनाबाट उपभोक्तालाई पानी सप्लाइ हुन सक्ने अवस्था नभएको बताइएको छ।