काठमाडौं। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ। त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरिएको हो।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका छन्।
खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासी खुसी भएका छन्। विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको स्थानीयले बताए।
करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्याङ्की निर्माण गरी घर–घरमा खानेपानी पुर्याइएको गाउँपालिकाले जनाएको छ। सो आयोजना सम्पन्न गर्नका लागि रु ४६ लाख ५० हजार ५०० को लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको हो।