सप्तरी। हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित खानेपानी आयोजनाको निर्माण शुरु गरेको २० वर्षमा पनि पूरा हुन सकेको छैन। आर्थिक वर्ष ०५७र५८ देखि नै आयोजनाको काम सुरु भएको खानेपानी आयोजना अझै अलपत्र रहेको हो।
६ हजार १४ घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्यअनुसार ६ करोड रुपैयाँको लागतमा आयोजना शुरु गरिएको थियो। ऋषि कन्स्ट्रक्सनले २०७४ मा २ वर्षमा सक्ने गरी आयोजना ठेक्का लिएको थियो। आयोजनाका लागि १ करोड ४३ लाख रुपैयाँ खर्च भइसके पनि हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको हो।
छिन्नमस्ता गाउँपालिकाको सखडास्थित खानेपानी आयोजना निर्माण सकिएको वर्षौं भइसकेको छ । आयोजना उपभोक्तालाई हस्तान्तरण पनि भइसकेको छ तर अझै पनि उपभोक्ताको घर–घरमा पानी पुग्न सकेको छैन ।
तिलाठीकोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खानेपानी आयोजनामा हालसम्म २ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । संरचना, ट्यांकी निर्माण, बोरिङ धसाउनेलगायत काम भइसक्दा पाइपलाइन विस्तार र विद्युत् सेवा जडान नहुँदा काम अलपत्र छ ।
खानेपानी आयोजना निर्माणको नाममा २० वर्षयता सप्तरीमा १ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ । तर, कुनै पनि आयोजना सकिएर पानी अझैसम्म उपभोक्ताले उपयोग गर्न पाएका छैनन् ।