काठमाण्डौं। जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित दुर्गमबस्ती च्याचुल गाउँमाका घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइएको छ। समुद्री सतहबाट करिब एक हजार बढी उचाइ तथा गाउँकै सबैभन्दा अग्लो स्थानमा रहेको उक्त गाउँको घरघरमै खानेपानी पुगेको हो।
तीन वर्षको प्रयासपछि एक घर एक धारा अभियानअन्तर्गत त्यसक्षेत्रका ४७ घरधुरीमा खानेपानी वितरण गरिएको बताइएको छ। बस्तीभन्दा तल रहेको खोल्सीको पानी करिब ७०० मिटर उचाइमा लिफ्टिङ गरेर निर्माण गरिएको ट्याङ्कीमा पानी सङ्कलन पश्चात वितरणको व्यवस्था मिलाइएको हो।
वषौँदेखि त्यसक्षेत्रका बासिन्दाले कुवाँको धमिलो पानी खाएर जीविकोपार्जन गर्दै आएका थिए। बस्तीदेखि करिब आधा घण्टा पैदलै डोकोमा पानी बोकेर ल्याउनुपर्ने समस्या अब अन्त्य भएको स्थानीयले बताए।
टोलमा खानेपानी नहुँदा एकजना खानेपानीको जोहो गर्नकै लागि खटाउनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताए। बस्तीमा पानी पुगेपछि किसानलाई तरकारी खेतीतर्फ उन्मुख गराइएको सो वडा कार्यालयले जनाएको छ।