काठमाडौं। काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको पत्रलाई बेवास्ता गर्दै हनुमानढोका दरबार क्षेत्रको वसन्तपुर डबली भत्काएर नयाँ कङ्क्रिटको संरचना बनाएको छ। आठवटा ३५ फिट अग्लो झण्डा राख्ने प्रयोजनले महानगरले डबली मासेर ट्याङ्की आकारका संरचना निर्माण गरेको हो।
पुरातत्व विभागसँग समन्वय नगरी डबली भत्काएर महानगरले मनपरी ढङ्गबाट संरचना निर्माण गरेको भन्दै विभागले उक्त काम तत्काल रोकेर समन्वय गर्न गत फागुन ६ गते महानगरलाई पत्र काटेको थियो। तर, विभागको पत्रलाई बेवास्ता गर्दै महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर डबलीमा कङ्क्रिटको संरचना निर्माण गरेको हो।
काठमाडौं उपत्यकाका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न वर्ल्ड हेरिटेज कमिटीबाट पटक पटक प्रस्ताव राख्दै आएको छ। नेपाल सरकारले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको विभागले जनाएको छ।
यस हिसाबले विश्वसम्पदा स्थल संरक्षण एवं व्यवस्थापनविपरीत हुने हुँदा समन्वय गर्न विभागले अनुरोध गर्दै आएको छ। तर महानगरले भने बेवास्ता गरेको छ। वसन्तपुर डबली ऐतिहासिक,सांस्कृतिक र धार्मिक महत्वको ठाउँ हो। यहाँ विधिवत धार्मिक पुजाआजा, चार्डपर्वलगायत विभिन्न कार्यक्रम हुने गर्छन्।