काठमाडौं। पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउने भएको छ। चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो।
पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएको हो। सुर्योदय र सुर्यास्तको अवलोकन गर्न सकिने गरी सञ्चालनको तयारी थालिएको बताइएको छ। ‘सराङकोटको विशेषता भनेकै सुर्योदय हो। धेरै पर्यटकहरु सनराईज हेर्न बिहानै सराङकोट पुग्ने गर्दछन्।
सेदीदेखि केवलकारमा चढेर १० मिनेटमा सराङकोट पुगिन्छ। प्रति गण्डोला ८ जना यात्रु बस्न मिल्ने गरी १७ गण्डोला जोडिएको छ। परियोजना २ अर्ब लागतमा निर्माण भएको हो। सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिएपनि कोभिड– १९ का कारण निर्माण समय र लगानी बढेको हो।
केवलकार चढ्ने यात्रुले नेपाली भए ७ सय, सार्क राष्ट्रका पर्यटकले ८ सय र न्य मुलुकका नागरिकले ९ अमेरिकी डलर भाडा तिर्नुपर्छ। जेष्ठ नागरिक र अपांगता भएकाले ५० प्रतिशत र विद्यार्थीले २५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ।