सोलुखुम्बु। भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिमा खानेपानी आयोजना निर्माण गरिएको छ। गाउँपालिकाका खुमजुङ र कुण्डे गाउँमा खानेपानी आयोजना निर्माण गरिएको हो।
आयोजनाको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।
‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो । यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।