काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न निर्देशन दिएका छन्। मेलम्ची खानेपानी विकास समिति तथा सम्बद्ध सबै निकायलाई उनले निर्देशन दिएका हुन्।
बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौँ पुर्याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका छन्।
मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए। निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए।
उनले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिए। सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौँ लैजाने गरी काम भइरहेको छ। मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको छ।