काठमाडौं। निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन्। निर्माण व्यवसायी सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो।
सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा कोभिडले असहज भएको निर्माण व्यवसायीमा मूल्यवृद्धिले झनै ठूलो प्रभाव पारेको उल्लेख छ। मूल्यवृद्धि समायोजन गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने व्यवसायीहरुको इच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ। आफ्ना मागहरु पूरा नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ।
फलामजन्य सामग्री, सिमेन्ट, बिटुमिन, इन्धन, इँट्टालगायत नदीजन्य निर्माण सामग्रीको मूल्यवृद्धिसँगै अभाव सिर्जना गरिएको व्यवसायीहरुले जनाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले व्यवसायीको माग जायज रहेको र ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्याउने बताए।