काठमाडौं। म्याग्दे गाउँपालिका–२ स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ। सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो।
पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीयले बताए। सङ्घीय सरकारबाट रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट रु ४० लाख ८७ हजार ५६ र थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो। झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ।
उक्त आयोजनाबाट १६७ मध्ये हाल १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका उक्त आयोजनाले जनाएको छ। गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले उक्त आयोजना उद्घाटन गरेका थिए।