काठमाण्डौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को हिजो उद्घाटन गरेकाछन। उनले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा खोलेर सो आयोजनाको उद्घाटन गरेका हुन।
उक्त आयोजनाबाट तुम्बेवा गाउँपालिका– १, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकलाई खानेपानी उपलब्ध गराउने संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिमा यस आयोजनाले सहयोग पुर्याउने बताए।
सहरी र गाउँमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित हुन सकिएको छैन्। खानेपानीकै लागि धेरै समय खर्चनुपर्ने बाध्यता अझै कायमै छ। यस्तो अवस्थाको अन्त्यका लागि स्थानीयस्तरका मुहानमा आधारित साना तथा मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने उनले बताए। प्रधानमन्त्री देउवाले चालु १५ औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुनःनिर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको जानकारी दिए।