दाङ। घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा निर्माण व्यवसायीले चरण लारबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाही गर्न माग गरेको छ ।नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेको हो।
सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीका कारण २२ जनाले ज्यान गुमाउनु परेको कांग्रेस दाङले जनाएको छ। विकास निमार्णमा भएको ढिलाई र वेवास्ताका कारण सर्वसाधारण नागरिकले सास्ती भोग्नु परिरहेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बताए ।
आर्थिक लेनदेनको मुद्धामा सडक निर्माण कम्पनीका प्रतिनिधि पक्राउ परिसकेकाले यो अवस्थामा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाहीको माग कांग्रेसले गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर समेत रहेका घनश्याम पाण्डेका छोरा तथा फोरलेन सडक बनाउने निर्माण व्यवसायी अनुप पाण्डेलाई ठगी आरोपमा प्रहरीले पक्रेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले फोरलेन सडक समयमै निर्माणका लागि पटकपटक पहल गरेपनि निर्माण व्यवसायीको लापरवाहीले समयमै सडक निर्माण हुन नसकेको बताए ।उनले फोरलेनका ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय दाङले बैंक कसुरमा पक्राउ गरि कारबाही अगाडि बढाएको भन्दै दोषीलाई सजायँ हुने बताए ।