पूर्वाधार निर्माणमा राजनीतिको हावी भएको पूर्वाधारविज्ञ हरुले जनाएका छन्। नेपालमा आधाभन्दा धेरै पूर्वाधार परियोजना नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरूले टिप्पणी गरेका छन् । उनिहरुका अनुसार पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको छ।
नेपाल आर्थिक पत्रकार समाज र पोलिसी इन्टरप्रेनरर्स इन्क पीईआई को संयुक्त आयोजनामा राजधानीमा भएको इन्फ्रास्ट्रक्चर रिपोर्टिङः मिडियाज् रोल इन सेपिङ द न्यारेटिभ विषयको अन्तरक्रियामा पूर्वाधार विज्ञले पूर्वाधार निर्माणमा राजनीति घुस्दा समयमै योजना सम्पन्न हुन नसकेको बताए।
उहाँका अनुसार ८औं आवधिक योजनादेखि हेर्ने हो भने अहिलेसम्म भएका सबै योजनामा पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ राखेका छौं । बजेटमा पनि प्रत्येक वर्ष प्राथमिकता दिएकै छौं तर योजना गरिएभन्दा बाहिरबाट आएका ६० प्रतिशत आयोजना प्राथमिकतामा परिरहेका छन् । पूर्वाधार निर्माणलाई पहुँच, अन्तरआबद्धता र आर्थिक वृद्धिसँग जोडेर हेर्नुपर्ने भन्दै अर्थतन्त्रमा यसको योगदान बढाउनुपर्नेमा जोड दिए।
पूर्वाधार विज्ञका अनुसार हाल पूर्वाधार क्षेत्रको योगदान अर्थतन्त्रमा ९.५ प्रतिशत रहेको छ, यसलाई बढाएर १२ देखि १५ प्रतिशत बनाउनु जरुरी छ, तर पूर्वाधार निर्माणमा छुट्याइएको बजेट नै खर्च गर्न नसकेको अवस्था रहेको छ।
बजेटमा हेर्ने हो भने कतिपय आयोजना हचुवाको भरमा राखिएका छन्, स्रोतको सुनिश्चितता नै छैन, यस्तो अवस्थामा विदेशी दातृ निकायको भर पर्नुको विकल्प छैन। क्षेत्रगत रुपमा केही नीति नभएका होइनन्, तर, समग्र पूर्वाधार क्षेत्रलाई मार्गनिर्देशन गर्ने नीति मुलुकमा अभाव छ जसले गर्दा पूर्वाधार निर्माणले गति लिन भने सकेको छैन पूर्वसचिब कृष्ण ज्ञवालीले बताउनु भयो।