भक्तपुर। भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिएको छ। आइतबार प्रशोधन केन्द्रको निर्माणका लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गरेका हुन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त केन्द्रको निर्माण कार्य शुरु गरिएको हो ।
आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको जानकारी दिएका छन्।
हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने छ। उनले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट शुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै पाँच वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताए ।
आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एमएलडी क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एमबीबीआर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराए । उनले अनुमानघाटस्थित पुरानो फोहोर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताए ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा भक्तपुरको घोषणापत्रमा दुईवटा पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउँदै हनुमानघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने विश्वास व्यक्त गरे ।