काठमाडौं। ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ। मूलखर्कमा जन्मिनुभएका ३१ वर्षीय युवा मनकुमार तामाङको व्यक्तिगत लगानी र योजनामा अनकन्टार नागीभीरको पहारामा बुद्धको मूर्ति बनाउने काम सुरु गरिएको हो।
एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका बताइएको छ। मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पुर्याएका छन्।
उक्त पहारामा २७ फिट अग्लो बुद्धको मूर्ति बनाउन होटेल व्यवसायी तामाङको व्यक्तिगत ३७ लाख रुपियाँ र अन्य दुई जना स्थानीयको दुई लाख रुपियाँ गरी ३९ लाख रुपियाँ खर्च भइसकेको छ।
१२८ फिट अग्लो चट्टानमा मूर्ति कुँद्नका लागि करिब १० लाख रुपियाँमा एक हजार सात सयवटा बाँसको खट बनाइएको छ। सुरुमा ११२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गर्ने योजना गरिएको भए पनि खर्च अभावले हाल शिर मात्र बनाइने बताइएको छ। निर्माणकर्ताले आगामी बुद्धजयन्तीमा बुद्ध मूर्तिको अनावरण गर्ने योजना रहेको जानकारी दिए।