खोटाङ। विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन्। विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दबिन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला बिक बिरामी परेका हुन्।
विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र बिकको उदयपुरको घुर्मीस्थित एक निजी अस्पतालमा र कुँवरको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ। बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको विद्यालयले जनाएको छ।
विद्यालयका परिचरले सोमबार बिहान सधैझैँ धाराबाट एक जार पानी ल्याएर राखेका थिए। विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोस्रो जार पानी ल्याइएको थियो। त्यो पानी केही छात्रले पिएका थिए। त्यसपछि पानी पिउन गएका तीन छात्र।छात्रा बिरामी परेका हुन्। पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको बताइएको छ।
एउटै जारको पानी अगाडि पिउनेलाई केही नहुनु र पछाडि पिउने छात्र।छात्रा बिरामी पर्नुमा बीचमा विषादी मिसाइएको अनुमान गरिएको छ। पानीमा विषादी मिसिएको आंशकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।