डोल्पा। डोल्पा जिल्लामा नेपाल टेलिकमका दुई वटा टावर निर्माण गर्न शुरु गरिएको छ। जिल्लामा भरपर्दो टेलिफोन सेवा प्रदान गर्नका लागि टेलिकमले एकैपटक २ वटा टावर निर्माण गर्न थालेको हो।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ को कालाजुर र १० को दापुमा इन्टरनेट सेवासहितको नेपाल टेलिकमको टावर निर्माण गर्न थालिएको छ।
भरपर्दो टेलिफोन सुविधा नहुँदा वर्षौँदेखि सास्ती खेप्दै आएका नगरवासीका लागि एकैपटक दुईवटा टावर ठड्याउन लागिएको हो। कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीको पहलमा टावर निर्माण गर्न लागिएको स्थानीयले जानकारी दिएका छन्।
नागरिकको सञ्चार असुविधालाई मध्यनजर राखेर टावर ल्याउन आफूले विशेष पहल गरेको सांसद शाहीले बताए। टावर निर्माणस्थलको अवलोकनसँगै नागरिकसँग छलफल गर्दै शाहीले अब छिट्टै नागरिकले घर–आँगनबाटै फोन सेवा लिन पाउने दाबी गरे।