काठमाडौं। व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ। स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो।
गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ। हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालयले जनाएको छ। नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था नभएको बताइएको छ। हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिने आशा राखिएको छ।
सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ। सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन हुनुपरेको थियो।