तनहुँ । व्यास नगरपालिकाले घरनक्सा पासको सम्पूर्ण काम अनलाइनबाट गर्न शुरु गरेको छ । नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेर घरनक्सा पासको सम्पूर्ण काम अनलाइनबाट गर्ने व्यवस्था गरेको हो ।
घरनक्शा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीका अनुसार भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल एनसेट)ले घरनक्शा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको थियो । नगरपालिकाले विसं २०४९ देखि घरनक्शा पासको काम गर्दै आएकामा अहिले पहिलो पटक अनलाइनबाट शुभारम्भ गरेको उनले बताए ।
नगरपालिकामा प्रत्येक वर्ष सातको सङ्ख्यामा भवन निर्माण भइरहेका छन् । घरधनी भवन निर्माण गर्न अनुमति प्रक्रियाका लागि पटक–पटक नगरपालिकाको कार्यालयमा जानुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइनबाटै अनुमति प्रक्रियाको काम शुभारम्भ गरिएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए।
अनलाइनबाट भवन निर्माण अनुमति आवेदनको व्यवस्थापन, नक्सापास प्रक्रिया कागजातहरुको सहज भण्डारण, नक्सापास प्रक्रियाको सहज अनुगमन, भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानहरुको अनुपालन जाँचमा सहजता आउने विश्वास लिइएको छ। व्यास डट घरनक्सा नेपाल डटकमबाट यसको सेवा लिन सकिन्छ ।