काठमाडौं। तनहुँमा खानेपानी आयोजना निर्माणका लागि नगर विकास कोषले ऋण दिने भएको छ। सो कोषले कुल लागतको २५ प्रतिशत ऋण दिने भएको हो।
व्यास नगरपालिका–१ को भादगाउँ खानेपानी तथा सरसफाई आयोजनालाई ३ करोड ८१ लाख रुपैयाँ ऋण दिने भएको हो।आयोजनाअन्तर्गत भादगाउँ करादी खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरै र कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच सम्झौतामा हस्ताक्षर भएको छ।
व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने उक्त सम्झौताको जमानी बसेका जनाइएको छ। धेरै छलफल र मूल्यांकनपछि आयोजनालाई ऋण दिने सम्झौताको चरणमा आइपुगेको बताइएको छ।
आयोजनाको कुल लागत १५ करोड २४ लाख ३६ हजार रहनेछ। यसमा सरकारले ७० प्रतिशत अर्थात् १० करोड ६७ लाख अनुदान दिँदैछ। व्यास–१ सेवा क्षेत्र रहेको उक्त आयोजना निर्माणले ४ हजारभन्दा बढी घरधुरीका ९ लाख हाराहारी उपभोक्ता लाभान्वित हुनेछन्। खानेपानी आयोजना निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन्।