काठमाडौं। चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि डेढघण्टा यात्रु केबलकारमै थुनिए। केबलकारमा रमाउँदै गरेका यात्रु विद्युत आपूर्तिमा समस्या आएपछि अचानक डेढ घण्टा थुनिएका थिए।
चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए। मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ। केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केबलकार स्टेसन पुगेको थियो।
सम्भावित दुर्घटना हुन नदिन तथा यात्रुको सकुशल उद्धारका लागि जिल्ला दैवीप्रकोप तथा उद्धार समितिको प्राविधिक सहितको टोली पनि तयारी अवस्थामा राखिएको थियो। केबलकारमा प्राविधिक समस्या आएको भनिए पनि विद्युत् प्रवाह नै बन्द भएको थियो। वैकल्पिक ऊर्जा प्रवाह गर्ने जेनेरेटरमार्फत केबलकार सञ्चालन गर्ने प्रयास पनि पटक पटकको प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबल (केबलकार तलमाथि गर्ने लाठो)लाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरिएको थियो।