पाल्पा। पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजा गाउँमा खानेपानी वितरण गरिएको छ। धारादी खानेपानी तथा सरसफाइ आयोजनामार्फत लिफ्टिङ गरेर फोक्सिङकोटका घरघरमा पानी वितरण गरिएको हो।
पानीको मुहान तल र बस्ती माथि रहेको गाउँमा लिफ्टिङ गरेर खानेपानीको व्यवस्था गरिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर सारुले जानकारी दिएका छन् । उनका अनुसार हाललाई ४३ घरधुरीमा खानेपानी वितरण गरिएको छ ।
खानेपानीका निम्ति कष्ट भोग्दै आएका यहाँका स्थानीयबासी घरघरमा पानी आउँदा दङ्ग छन् । पानीका लागि अन्यत्र खोजीमा भौतारिनु पर्ने अवस्था सदाका निम्ति हटेको स्थानीयबासीको भनाइ छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पा, बुटवल पावर कम्पनी गल्याङ, रम्भा गाउँपालिका, वडा कार्यालय र स्थानीयबासीको सहयोगसहित करिब ४७ लाख १५ हजार रुपैयाँमा आयोजना सम्पन्न गरी घरघरमा पानी वितरण गरिएको छ ।