काठमाण्डौं। लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएका छन्। आयोजना सञ्चालनमा आएसँगै १६६ घरधुरीका ८०० जना प्रत्यक्ष लाभान्वित भएका हुन्।
गण्डकी प्रदेश सरकारबाट प्राप्त एक करोड १५ लाखको लागतमा निर्माण गरिएको च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४२५ जना लाभान्वित भएका छन् भने सङ्घीय सरकारबाट प्राप्त ९५ लाख ४८ हजार ५१३ को लागतमा निर्मित ठूलाधारा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरीका ३७५ लाभान्वित भएका छन्।
यसअघि सञ्चालित खानेपानी योजना अव्यवस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग पनि भएकाले प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहानबाट पानी ल्याएर वितरण गरिएका उक्त च्याउखोला आयोजना उपभोक्ता समितिले जनाएको छ। उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका–२ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गेडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ।
योजना मर्मतका लागि मासिकरुपमा ५० सङ्कलन गर्न थालिएको छ। लिफ्टिङबाट वडा नं २ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजनाले बताएको छ।