सुनसरी। सुनसरीको इटहरीमा फोहोर प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ। फोहोर व्यवस्थापनका लागि इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो।
अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्रमार्फत प्रत्येक दिन ८०० केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्बर १० मा निर्माण गरिएको केन्द्रकोनेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् ।
इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्र सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल निर्माण गरिदिएको छ ।
केन्द्र सञ्चालनमा आएपछि फोहोर मैलाको उचित व्यवस्थापनसँगै फोहोरबाट आम्दानी पनि हुने इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।
केन्द्रमा प्रत्येक दिन ८०० केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्री गरिने चौधरीले जानकारी दिए ।