काठमाडौं। तनहुँको बन्दीपुर–२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ। योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको हो।
सङ्घीय सरकारको रु एक करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ। योजनाबाट २२५ परिवार लाभान्वित भएका छन्। सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो। योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन्। कोरोना सङ्क्रमणका कारण निर्धारित समयभन्दा ढिला योजना सम्पन्न भएको बताइएको छ।
घरघरमा पानी उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्। यसअघि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता थियो। गाउँमा ८५ धाराबाट पानी वितरण गरिएको छ। पानी लिन कुवा धाउनु पर्ने समस्याको अन्त्य भएको छ पानी पुगेपछि तरकारी र फलफूल खेती गर्नसमेत सहज भएको स्थानीयले बताए। उक्त योजनाको आइतबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गरे।