सिन्धुलीको कमलामाई नगरपालिका– २ कुसुमटारमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणका लागि थप जग्गा अधिग्रहण गरिने भएको छ।
सुरुङको मुख साङ्गुरो हुने भएपछि मुख फराकिलो बनाउन १३ जना किसानको एक बिघा जग्गा र पाँच परिवारको घर मुआब्जा निर्धारण गरी ती घर र जग्गामा पर्ने संरचनाहरुको क्षतीपुर्ती रकम निर्धारण गरि अधिग्रहण गर्ने प्रक्रिया अघि बढाउने सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यिय आयोजनाले जनाएको छ।
जग्गाको मुआब्जा एक जना किसानले न्यूनतम सात लाख ७० हजार रुपियाँदेखि अधिकतम ११ लाख रुपियाँसम्म पाउने भएका छन् । घर र बोटबिरुवाको पनि क्षतिपूर्ति पाउने व्यवस्था गरिएको आयोजनाका वरिष्ठ भूगर्भ जलबिज्ञ सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट विश्वबन्धु केसीले जानकारी दिनुभयो।
आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ। उक्त आयोजनाको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ कोभेकले पाएको छ। अबको सात महिना पछि उक्त कम्पनीले काम सुरु गर्नेछ।
आयोजनाको निर्माण कार्य आर्थिक बर्ष २०८२–८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि टीबीएमले खनिने भएको केसीले जानकारी दिनुभयो। आयोजना निर्माण गर्न कूल ४६ अर्ब भन्दा माथीको लागत लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्न झण्डै ३० अर्ब रुपियाँ लाग्ने बताइएको छ।