काठमाडौं। मनसुनजन्य विपद् प्रभावितलाई निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक र नुवाकोटलाई लगभग दुई करोड दिने निर्णय गरेको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको थीयो। उक्त बैठकमा प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम निकासा गर्ने निर्णय गरेको हो।
मन्त्री शाक्यका अनुसार अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड भन्दा माथी र नुवाकोटका लागि सात लाख भन्दा माथीको रकम पहिलो किस्ता बापत सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिलाई उपलब्ध गराउने निर्णय भएको छ।
बैठकले २०७७ जेठदेखि अहिलेसम्म मनसुनजन्य विपद्का घटनाहरूबाट क्षति पुगेका निजी घर परिवारलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल जिविकोपार्जनका लागि प्रतिपरिवार अधिकतम १० हजारसम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम वितरण गर्ने पनि निर्णय गरेको छ।
जसअन्तर्गत सिन्धुपाल्चोकका कुल लाभग्राही ३६६ जनाको ३६ लाख ६० हजार र नुवाकोटका कुल लाभग्राही ९३ जनाको नौ लाख तीस हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको छ।