काठमाडौं। दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने काम सुरु भएको छ। पूर्वी चितवनमा राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधान गर्नको लागि पक्की पर्खाल लगाउने काम सुरु भएको हो।
आर्थिक वर्ष ०७७/७८ को साउनबाट निर्माण कार्य सुरु भएको परियोजना सम्पन्न भएपछि नदी कटान समस्या समाधान हुने नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरले जनाएको छ।
लोथरदेखि सौराहाको हात्ती प्रजनन केन्द्रसम्मको २६.८ किलोमिटर लम्बाइ भएको ड्याम नेपालमा नै पहिलो संरचना हुने बताइएको छ। ढुङ्गाको तारजाली भएका ड्याम धेरै स्थानमा छन्, ती ड्याम लामो समयसम्म टिक्न सक्दैन, अब यस्ता आरसीसी ड्यामले दीर्घकालीन समाधानको काम गर्ने आयोजनाले जनाएको छ।
लोथरदेखि सौराहासम्म निर्माण हुने पर्खालको उचाइ छ मिटरको हुनेछ। माथि करिब छ मिटरको चौडाइ फराकिलो सडक निर्माण हुने भएकोल वैकल्पिक राजमार्गका रुपमा रहेछ। उक्त परियोजनाको काम चार अर्ब २८ करोड रुपियाँ बराबरको लगानीमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरि सुरु भएको हो। सुरुमा एक करोड रुपियाँ विनियोजन भएको यस योजनामा हरेक वर्ष बजेट वृद्धि गर्दै लैजाने गरी बजेट सुनिश्चित भएको बताइएको छ।
ड्याम निर्माण सम्पन्न भएपछि पर्यटकीय क्षेत्र सौराहा कटान समस्या समाधान हुनेछ। पूर्वी चितवनवासीलाई सधैँ राप्ती नदी कटानको समस्याले सताउने गरेको थियो, अब पक्की पर्खाल निर्माण हुने भएपछि यस्ता समस्याहरु बाट सहज हुने स्थानीयले बताएका छन्। उक्त ड्याम निर्माणले सौराहा क्षेत्रको पर्यटकीय गतिविधि लोथरसम्म जाने विश्वास गरिएको छ।