काठमाडौं। प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरू हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच हस्तान्तरण भएका कार्यलाई तोकिएकै समयमा सम्पन्न गर्नेबारे छलफल भएको छ। हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको जनाएको छ।
उक्त छलफलमा बाँकी पुनर्निर्माणका कार्य अगाडि बढाउनेक्रममा समन्वयको समस्या नआओस् भनेर सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको साथै समयमा नै काम सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न मन्त्रालयलाई समितिका तर्फबाट निर्देशन दिइएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारीले पुनर्निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको साथै त्यसबाट प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने कार्य सञ्चालन गर्ने आधार बनेको बताएका छन्। अर्थसचिवले प्रतिस्थापन विधेयकमार्फत् पुनर्निर्माणको बजेट चार अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षजस्तै पुनर्निर्माणका बाँकी कामलाई पनि प्राथमिकता दिइएको बताए। यसै अवसरमा शिक्षासचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, शहरी विकास सचिवले हस्तान्तरण भएर आएका काम प्राधिकरणसहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका कुरा प्राधिकरणले जानकारी दिइएको छ।