काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल प्रयोग गरिरहेका इन्टरनेट सेवा प्रदायकलाई कात्तिकभित्र आफूले सेवा सञ्चालनका लागि प्रयाग गरेको पोल प्रयोगको स्थान, परिणामसहित सम्झौता गर्न साथै पोलको भाडा भुक्तानी गर्न आग्रह गरेको छ।
टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकको केही स्थानमा जडान भएको केबल प्राधिकरणले लाइन काटिदिएपछि विवाद उत्पन्न भएको थियो। सो विवाद समाधानका लागि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीको अध्यक्षतामा असोज १७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका प्रतिनिधिबीच भएको छलफलमा समस्या समाधानका लागि सेवा प्रदायकले विद्युतको पोल प्रयोग गरेको स्थान, परिणाम र अवधि स्वयं घोषणा गरी २०७८ कात्तिक मसान्तभित्र सम्झौता गर्न अनुरोध तथा सोका लागि सूचना तथा प्रसारण विभाग र नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण गर्न आग्रह गरेको हो।
त्यस्तै समस्या समाधान गर्नकोे लागि तत्कालीन र दीर्घकालीन उपायहरू सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको थियो। तोकिएको समयभित्र सम्झौताका लागि नआउने सेवा प्रदायकको प्राधिकरणको वितरण संरचनाका आधारमा विद्युत प्राधिकरण स्वयंले भाडा रकम निर्धारण गरी असुली कार्य अघि बढाइने प्राधिकरणले जानकारी दिएको छ ।