सल्यान। बागचौर नगरपालिका–८ खत्रीगाउँमा घरघरमा खानेपानीको सुविधा पुगेको छ। बागचौर नगरपालिकाको ३६ लाख ५० हजारको आर्थिक सहयोगमा शारदा खोलाबाट लिफ्ट प्रविधिमार्फत गाउँगाउँमा खानेपानी धारा जडान गरिएको हो।
बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानीको जोहो गर्ने बागचौर नगरपालिका–८ खत्रीगाउँका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन्।
एक गाग्री पानीका लागि दैनिक घण्टौंसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दालाई अहिले आँगनमै खानेपानी आएको शारदा खोला खत्रीगाउँ लिफ्ट खानेपानी योजनाले बताएको छ। खानेपानीका लागि निकै समस्या झेल्दै आएका स्थानीयको प्रयासपछि घरघरमा पानी आएको बताइएको छ।
पानी लिन घण्टौंसम्म कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्न गाह्रो भएको थियो तर अहिले समय बच्नुका साथै सरसफाइ गर्न पनि सजिलो भएको स्थानीयले बताएका छन्।