दार्चुला । जिल्लाको कालापानी नजिकको गाउँ ब्यास गाउँपालिका–१ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । विद्युत अभाव र उपकरणमा समस्या देखिएर अवरुद्ध बनेको टावर मर्मत गरेर छाङरु र तिङकर गाउँमा स्काई फोन सेवा सुचारु गर्न लागिएको हो ।
एक वर्षदेखि सञ्चारविहीन बनेको छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ मंगलबार हेलिकोप्टरमार्फत् सोलार लियर छाङरु पुगेका छन्।
टावर सञ्चालनका लागि विद्युत अभाव रहेको र सोलार प्यानल ढुवानी गर्न उपयुक्त बाटोको व्यवस्था नरहेको अवस्थामा व्यासमा चामल ढुवानी गर्न आएको हेलिकोप्टरमार्फत् नेपाल टेलिकम दार्चुलासँग रहेका १६ थान सोलार प्यानल समेत ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिए ।
व्यास क्षेत्रमा रहेको स्काई टावरमा हिमपातका कारण एक वर्ष पहिले क्षति पुगेको थियो । कालापानी नजिकको गाउँ छाङरु र तिकंरका स्थानीयबासीन्दा सञ्चार सम्पर्कविहीन रहेका छन् । केही महिना पहिले टावर मर्मत गरिएको भए पनि विद्युत अभावमा राम्रोसँग काम नगरेकाले सोलार जडानपछि सञ्चार सेवा सुचारु हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।