काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ। किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न सो चिस्यान केन्द्र निर्माण गरिएको हो।
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु ४० लाख गरी कूल रु ९० लाखको लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ। उक्त कोल्डस्टोर ३० टन भार क्षमताको रहेको छ।
लाखौँको कृषी उपज हुने सो स्थानमा चिस्यान केन्द्र निर्माण नहुँदा समस्या भएको थियो। चिस्यान केन्द्र सञ्चालनमा आएसँगै वर्षौँदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या अन्त्य भएको स्थानीयले बताएका छन्। चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ।
चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि छ महिनासम्म सुरक्षित रहने बताइएको छ। किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।
निर्माण उपभोक्तामार्फत निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार नेकपा (एमाले) प्रमुख सचेतक विशाल भट्टराईले औपचारिक रुपमा शुभारम्भ गरेका छन्। जिल्लाका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो।