प्रत्येक स्थानीय तहमा सरकारले औद्योगिक ग्राम स्थापना गर्ने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको तीन वर्ष पूरा हुँदा पनि कार्यान्वयन भने कमजोर देखिएको छ।अघिल्ला दुई आर्थिक वर्षमा लक्ष्य अनुसार औद्योगिक ग्राम स्थापना हुन नसकेपछि चालू वर्षमा लक्ष्य नै घटाइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल औद्योगिक ग्राम स्थापनाको निर्णय सकारात्मक भएपनि स्थानीय तहलाई अभिमुखीकरण र प्राविधिक सहयोग हुनुपर्ने बताउँछन्। देशका स्थानीय तहमा केही न केही सम्भावना रहेका कारणले यस्ता अभिमुखीकरण र प्राविधिक सहयोग हुनुपर्छ। जिल्लामा उत्पादन देखी बजारीकरणसम्म स्थानीय तह र उद्यमिले मात्र मात्र नसक्ने भएकाले एउटा वृहत चेन नै निर्माण गरिनुपर्ने उनले बताए।
मन्त्रालयले प्रत्येक उद्योग ग्रामका लागि स्थानीय तहलाई तीन करोड अनुदान दिने गरेको भएतापनी सरकारी अधिकारीहरुका अनुसार औद्योगिक ग्राममा लक्ष्यअनुसारका उद्योग स्थापनासमेत हुन सकेको छैन। औद्योगिक ग्राम स्थापना नै भएका क्षेत्रमा समेत निराश हुनुपर्ने अवस्था रहेको छ।
स्थानीय स्रोत, साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने भन्दै तीन वर्षअघि तत्कालीन मन्त्रिपरिषदले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको भएतापनि तिन वर्ष बितिसक्दा पनि कार्यान्वयन भने अझै हुन सकेको छैन।