काठमाडौं। ललितपुर स्थित भैंसेपाटीको कुल २६ रोपनी दुई आना जग्गामा चौधरी ग्रुपले सिजी हिल्स् प्रिमियम ल्याउने भएको छ। यसका लागि कम्पनीले गत भदौमै बुकिङसमेत खोलिसकेको छ। कुल ६० युनिट रहने यो परियोजनाका घरहरु चार आनादेखि १० आनासम्ममा तयार हुने साथै सो घरहरुको मूल्य सात करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्म रहने कम्पनीले जानकारी दिएको छ।
उक्त हाउजिङ परियोजना पछिल्लो समय बुकिङ खुलाइएका हाउजिङहरुमध्ये कै महंगो परियोजना रहेको छ। खरिदकर्ताहरुले घर बुकिङ गरेको एक वर्षभित्रै निर्माण सक्ने कम्पनीको लक्ष्य रहेको छ। के अप भिल्ला, एमएस भिल्ला, एफ भिल्ला र एफबी भिल्ला गरी चारवटा विभिन्न डिजाइनका घरहरु निर्माण हुनेछ।
के अप भिल्लाका घरहरु ३०५७/५९ वर्गफीट आकारको हुने साथै साढे तीन तलाको ६ वटा घरहरु बन्ने छन्। त्यस्तै एमएस भिल्लाका घरहरु २६६/९६३ वर्गफीटको हुने साथै तीन तलाका ३३ वटा घरहरु निर्माण हुनेछन्। एफ भिल्लाका घरहरु ३०१७/३९ वर्गफीट हुने साथै साढे तीन तलाको ११ वटा घरहरु निर्माण हुनेछन्। यस्तै, एफबी भिल्लाका घरहरु ३६४५/०३ वर्गफीट हुने साथै साढे चार तलाको ६ वटा घरहरु निर्माण हुनेछन्।
यस परियोजनामा कमन स्वीमिङ पुलका साथै व्यक्तिगत घरमा पनि स्वीमिङ पुल रहने कम्पनीले जनाएको छ। सिजि ग्रुपले यो भन्दा पहिले पनि भारतीय व्यापारिक घराना अन्सल ग्रुपसँगको साझेदारीमा माउन्ट भ्यू रेसिडेन्सीसहित अन्य विभिन्न परियोजना निर्माण गरिसकेको छ।