रामेछाप। जिल्ला सदरमुकाम मन्थलीमा रहेको बसपार्क समयमै आवश्यक मर्मत सम्भार हुन नसक्दा अस्तव्यस्त बनेको छ। मन्थली नगरपालिका–१ मा रहेको बसपार्कभित्रका खाल्डाखुल्डी मर्मतका लागि सुरु गरिएको काम पनि अहिले रोकिएपछि सवारीसाधन पार्किङमा समस्या भएको हो।
समयमै मर्मतको काम नसकिँदा मन्थली बसपार्क अस्तव्यस्त बनेको सवारी चालकहरु बताउछन्। मन्थली बसपार्कमा निर्माणको काम सुरु भएको लामो समय भइसक्यो, अहिले बसपार्क वरिपरि निर्माण सामग्री राखिएपछि यातायातका साधन पार्किङमा समस्या भएको उनिहरुको भनाइ रहेको छ। गत वर्षदेखि नै अस्तव्यस्त बनेको बसपार्क निर्माणमा सरोकारवाला निकायले खासै चासो नदिएको बताइएको छ।
मन्थली बसपार्कमा दिनहुँ ३० देखि ४० वटा बस पार्किङ गरिन्छ। दैनिकजसो बसपार्कमा धुलो, धुवाँ र हिलोका कारण व्यवसायमा असर परेको होटल व्यवसायीले बताए।
सहरी विकास तथा भवन सिन्धुलीमार्फत लुमिनस कन्स्ट्रक्सनले ३३ लाख रुपियाँको लागतमा चालू आर्थिक वर्षका अन्त्यसम्म सम्पन्न गरिसक्ने सम्झौता गरेको थियो। फलामे डन्डीलगायतका निर्माण सामग्रीमा ५० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएकाले तत्काललाई निर्माणको काम रोकेको लुमिनस कन्स्ट्रक्सनले बताएको छ।