सुनसरी। गढी गाउँपालिकामा अन्न भण्डारण गृह सञ्चालनमा आएको छ। नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले औराबनीमा भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको हो।
भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ। मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ। भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ। अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ। कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको बताइएको छ। तीनवटै स्थानको गरी ५५ हजार मेट्रिक टन क्षमताको खाद्यान्न भण्डारणको कुल परियोजना लागत १ अर्ब ४९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।