हुम्ला। विगत २४ घण्टादेखि हुम्लामा टेलिकमको सेवा अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि जिल्लामा टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएको हो।
नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा प्रभावित भएको छ। कालिकोट र दैलेखको बीचमा रहेको टेलिकमको फाइबरमा प्राविधिक समस्या आएका कारण हुम्ला सहितका क्षेत्रमा सञ्चार सेवा बन्द भएको हो। समस्या समाधानका लागि प्राविधिक टोली बिहीबारदेखि नै खटिएको टेलिकमले जनाएको छ।
तर २४ घण्टा बित्दा पनि सेवा सुचारु हुन सकेको छैन। हाल जिल्लामा एनसेलको सेवाले आंशिक रुपमा टेलिफोन सुविधा सञ्चालन छ। तर कमजोर नेटवर्कका कारण सेवा प्रभावकारी भने छैन।