काठमाडौं। मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले समयमा काम समपन्न नगर्ने ४५ वटा निर्माण कम्पनीलाइ स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। ४५ वटा निर्माण कम्पनीलाई सात दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।
उक्त योजना कार्यालयबाट ठेक्का व्यवस्थापन भइ निर्माण कार्य अघि बढाएकोमा विभिन्न सडक तथा पुलको काममा पटक–पटक लिखित एवम् मौखिक माध्यमबाट ताकेता गर्दासमेत समयमा काम नगरेपछि स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो। यो सूचना प्रकाशित भएको सात दिन भित्र आधिकारिक प्रतिनिधि स्वयम् कार्यालयमा उपस्थित भइ समयमा काम सम्पन्न हुन नसक्नुको केही मानवीय कारण भएमा कार्यालयमा लिखित जवाफ पेश गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्ने विश्वसनिय आधार पेश गर्न कार्यालयले निर्देशन दिएको छ।
यदि तोकिएको समयभित्र उचित कारण सहित सम्बन्धित आधिकारिक प्रतिनिधि उपस्थित नभएमा वा पेश गरिएका स्पष्टीकरण चित्तबुझ्दो नभएमा प्रचलित कानून तथा ठेक्का सम्झौता अनुसार ठेक्का तोडी कालोसूचिमा राख्ने प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ।
